उ, चुरोट र समय



साँझबाट पर्न सुरुगरेको सिमसिम बर्षा, अनि आफ्नै दागबत्तीमा रमाईरहेको एक चुरोट!!


जब चुरोट पिउँछु, म आँफैलाई बिर्सिन्छु सम्झन चाहेर पनि सम्झन्न केही कुरा। आजकल आँफैलाई आँफ्नै यादको क्षितिजबाट पर हुत्त्याईदिने एक साधन बनाईरहेकोछु, चुरोट। म कल्पना गदर्छु, यदी मेरो ठाउँमा देवकोटा भएको भए, सायद एक महाकाब्य बन्थ्यो। के गर्नु, बोधो दिमाग अनि थोत्रो समय।

लाजले हो वा स्वाभाविकताले गर्दा हो, म बोल्ने बेला हात हल्लाउदिन प्रायस। जब मन वाचाल हुन्छ तब हातहरु मौन बस्दैनन्। तर अचानक धुँवा उड्दै गरेको चुरोटको साथ दाँया हात लच्किन्छ। उ शान्त भएर निहुरिन्छे।

एक लहर जिन्दगिको ध्वनिले एकहोरो बर्षा को आवाजलाई चिथोरेर जान्छ।

मलाई कथा लेख्नु बदमासी एंब फुर्मासी जस्तो लाग्छ। लेखक के बन्नु समयको असंगत अनि नसाको सङ्गत। यो त्यहि समाज हो जहाँ लेखक बेइमान बन्छ अनि बेइमान लेखक बन्छ।

भर्खर सल्काएको चुरोटको अर्को पफ तान्न मन लाग्छ। ओठहरु जोडेर चुरोट च्यापिदिन्छु अनि आराम साथ एक लामो सर्को भित्रै पुगुन्जेल तानिदिन्छु।
.........................................    ......................................     ......................................
उसको प्रेमिल अनुहार चुरोटको तही सर्को संगै मानसपटलमा सपाट आइपुग्छ। आँखा भरि प्रेम लोलाएर जब उ मेरो अगाडी अलि पर निहुरिन्छे, तब मलाई निस्कलंक उभिएका सिरिसका फुलहरुको याद आउछ।
म उसंग आँखा जुधाँउन्न।
कार्यालयका कामका चटारो संग मेरा र उसका भाबना को के सम्बन्ध? म एक गहिरो आत्मानुभुती गर्दछु।  उसको मन संग मेरो मन यायाबर भएर विचरण गरिरहेछ। जाँच पड्ताल गरिरहेका कागजका चांगहरु बाट मन स्वात्तै भागेर उसको वरिपरि घुमिरहंछ। मनको फाटकै हुदैन, सबै तिर खुल्ला, सबै तिर बन्द। उ कम बोल्छे र पो म सोच्ने समय प्राप्त गर्दछु। उ बोल्न चाही बोल्छे तर काम परे पछी मात्र।
.........................................    ......................................     ......................................
टेबल माथिको बत्ति निभ्न आँटेछ क्यारे। लोडसेडिङको तालिका भए पनि कुनै काम छैन। बत्ति र उसको याद, कुरै नगरौ यार। दुवै असामयिक छन्। मधुरो प्रकाशले मलाई उसको उज्जालो अनुहारको चम्किलोपनको याद गराउछ।

हाततिर हेर्छु, चुरोटले धुँवा छोड्दै छ। निसंकोच अर्को पफ तान्छु। मज्जासँग तान्छु। मानौ, म उ संग बोल्छु, मेरो यायाबर मनलाई आफ्नै छाप्रोमा फर्काएर।
.........................................    ......................................     ......................................
उसले एकचोटी पुलुक्क हेर्छे। मैले पनि त हेर्छु। आँखा चार हुन्छन। म छक्क पर्छु, मेरा प्रश्नहरुको जवाफ उ एक निमेष मै फर्काउछे। म ढुक्क भए, उ आरामै रहेछ। मन र सरिर आँखा मा तछाड मछाड गर्दै दौडिदा रहेछन, यार यो त प्रेमको कुरा पो भो क्यारे। प्रेम स्वाभाविक र व्यवहारगत हुन्छ। स्वाभाविक प्रेममा भाब र सम्बेदना हुन्छ। आमाले आफ्ना सन्तानको कति माया गर्छे। तर व्यवहार गत प्रेम यान्त्रिक पनि त हुन जान्छ।
प्रेमको परिभाषा दिंदै गर्दा, एक चक्कर धुँवा नाकको प्वाल नेर बाटै आराम संग सरिर मर्काएर जान्छ। म आँखा चिप्लाईदिन्छु, चुरोटतिर। उ निसब्द बल्दै जान्छ। निमोठीएका सपना जस्तै उ खरानी भइरहेको म देख्छु। आँखा चिम्म गरेर चुरोटको अर्को लामो पफ तान्छु। बिम्बहरु आउँछन्, जान्छन।
उसका एकजोर आँखाहरु टेबुलमा थुप्रिएका अभ्यास पुस्तिकाका चाङ्ग बाट माथि उठछन। प्रेमका स्वप्नदर्सी चराहरु त्यहाँ बास बस्छन जस्तो लाग्छ। उ गाजल लगाँउदिन तर मलाई ति गाजलु लाग्छन।
.........................................    ......................................     ......................................
बाहिर पानि पर्न बन्द हुन्छ। सुनसान बाताबरणमा पनि शान्त हुन सक्दैन मन। सकिदैगैरहेको चुरोट जस्तै बिस्तारै मन रित्तो हुदैगएको आभास हुन्छ।
.........................................    ......................................     ......................................
उ खुसुक्क हास्छे। मलाई उसलाई हसाउन मनपर्छ। एक परिकथामा जस्तै, जब उ मुस्कुराउछे, म ठान्छु, उसको मुस्कान संगै एक मुट्ठी भर चमेली फुलहरु खस्छन अनि सबै पिडाहरु ति फूलहरुको सुगन्ध संगै हराउँछन। म आज सम्म बाच्नुँका सपाट पिडाहरु संगालीरहेछु। सपनाका खण्डहरबाट बनेका ससाना झुपडीहरु बाट एक अनिश्चित क्षितिज चिहाइरहेछु। कालो बादलको एक लामो धर्सोले क्षितिज छोपिरहेको दृष्य देक्छु। तर जब उ मुस्कुराउछे, म सम्झन्छु एक उमङ्ग सहितको भास्कर पदार्पण।
.........................................    ......................................     ......................................
जति म रित्तिदै जान्छु, त्यस खाली ठाउँलाइ धुँवाले भर्दछु। चुरोट सकिइ सकेको छैन। प्रत्येकपल उ आत्म तादम्यता को लागि तयार हुन्छ।
.........................................    ......................................     ......................................
नारीमा जादु हुन्छ रे। यदी मैले उ जादुगर्नी हो भनेरभने भने फरक पर्दैन। उसका हरेक जादुका छनक हरुले मलाई मोहनी लगाउछन। एक अविराम जादुको प्रभाबमा समुन्द्रतर्फ हान्निएका खोला जस्तै। म पनि खोला भएछु क्यारे। आजको मेरो समुन्द्र यतै छ।
उ निहुरहन्छे निरन्तर, स्वर्ण रंगको बान्की परेको केश राशी लिएर। उसलाई पक्कै पनि थाहा छ, स्वर्णिम कल्पनाहरु स्वर्णिम केशराशी बाट पनि सम्भब छन्। कार्यालयको कामको फन्कोलाइ उ बिस्तारै घुमाँऊछे। उसंग हतारमा कुरो गर्नुको कुनै तुक लाग्दैन मलाई। म आफैलाई विश्वास गर्दछु, यदी म शेक्सपियर हुन्थे भने, एउटा राम्रो सोनेट को सिर्जना गर्दो हु। तर आजकाल सोनेट होइन गजलको जमाना छ। यदी भाबना पोखिएर आँखाबाट सपनाहरू छचल्किएनन भने म उसको लागि गजलकै संग्रह बनाउँथे। गजल लेख्न आउने भए, मिसरा-ए-उला वा मिसरा-ए-सानीमा उसलाई राखेर तखल्लुस बनाँउथे। एउटा नाथे संझेर लेख्न सुरु गरेको गजल त अपुरै छ। के कुरा गर्नु संग्रहको। म झस्किन्छु जब चुरोटले हात पोल्छ।
म निरन्तर उसलाई हेरिबस्छु। तर उ कमै आँखा जुधाँउछे, लाग्दैन उ मलाई प्रेमपनि त गर्दिन तर फेरी यो पनि त लाग्दैन उ मलाई प्रेम गरिरहेकी छ। यो सायास वा अनायास निस्कर्ष हो, मलाई थाहा छैन तर म उसको उपस्थितिमा केहि न केहि हदमा प्रभावित भएको अनुभूति गर्दछु। आँट गरेर, म उसको नजिक जान्छु। मेरो नगिचैको आगमन संगै उ रेजा लगाईरहेको अबस्थामा हठात रोकिन्छे। म आँखा चिप्ल्याई दिन्छु उसले रेजा लगाई रहेको फाइलमा – एक गुलाबको फुल।
.........................................    ......................................     ......................................
चुरोटको अन्तिम सर्को तान्छु र अन्तिम धुँवाको लामो मुस्लो उडाइदिन्छु। गुलाब धमिलिदै जान्छ।


4 comments

यदी मेरो ठाउँमा देवकोटा भएको भए, सायद एक महाकाब्य बन्थ्यो #BestOne

Reply

हो गुरु..पक्कै हो!

Reply

सारै सुन्द​र अभिब्य​क्ति । म​न नै सिरिङ्ग​ भ​यो । लेख्न न​छोड्नुहोला है ।

Reply

धन्यवाद, सत्प्रेरणाको लागि! सुझाबको लागी धेरै धेरै आभारी छु :) BTW एल्बमको प्रतिक्षामा छु है :)

Reply

Post a Comment