चितवन, शक्तिखोर
भन्दा केहि पर। सिद्दीको ओरालो, आघिल्लो दिन चढेको उकालो भन्दा पनि हिड्न गाह्रो थियो।
खुट्टा काम्प्थे ओरालोमा, उनैले बोकेको शरीर लाईनै नथाम्नेगरि। तर, के गर्नु शरीरको
भन्दा मनको भारी कैयौ गुणा गह्रौ थियो। गन्तब्य पुगेर फर्केको यात्रीको ओठमा
खुशीको लाली लाग्नु पर्ने हो तर अमिलो मनको बेस्वादिलो रंगले भएको बैजनी रंग पनि
खोसेर लगेको थियो।
बाटो सिद्दी, लोतंतीको
राष्ट्रिय प्राथमिक बिध्यालयको प्रांगणबाट ओरालो लाग्दै थियो। केहि बेर अगाडि
त्यहि बिध्यालयको प्रांगणमा गरेको छोटो कार्यक्रम पछी खाना खाएर ओरालो नाप्ने काम
सुरु भएको थियो। ओरालोका प्रत्येक कदमहरुमा मन अमिलो भएर आउथ्यो। त्यो मन अमिलो
बनाउने पिडा न त सुन्दर स्थानको बिदाईमा थियो न अपरिमित खुसियालीको टुक्राईमा।
सुकेर खसेका सालका
पातहरुले चट्यानी बाटोमा तन्ना जस्तै फिजाँरिएर आफ्ना मृत जिबनहरु सुकाईरहेका थिए।
एउटा पात आँखै आगाडी उड्दै आयो र मेरै गोड़ा नेर सुस्त बिसायो। सुक्खा तर टुक्रिएको
पात, जो आफैमा सग्लो थिएन। एउटा अपूर्ण पात, चुडिएको पात अनि आफ्नै सृस्टीको बसाई
छोडेर, जिबन्त आत्मियताको बर्को त्यागेर भुइँमा पछारिएको पात, कठै। मन करुण रसले
भरिएर आयो, आखाँ रसाएर आए र दृश्यहरु टिलपिलाउन थाले। उस्तै पातहरु रुखहरुमा
टाँसिएर बसेका छन् तर यो बिचरा झर्न आभिशप्त छ। त्यही निर बिसाउन मन लाग्छ। अलि
सजिलो जस्तो लाग्ने भू संरचनामा पाइतालाहरु केहि बेर रोक्दै उभिन्छु।
एक फेर आखाँ
चिम्लिन्छु र स्मिर्तीमा बगिरहेका दृश्यहरु निम्छरो बनेर हेरीबस्छु। केही समय अगाडी
त्यहि बिधालयको प्रांगणमा उभिएकी एक चेपांग नानीको तस्बिर आखाँमा जडभइ बस्छ। मन अझै
अमिलो भएर आउछ । ति चेपाङ्ग नानीको आबोध एबं बालशुलभ मुखाकृतिले पिडा दिन थाल्छ।
कपाल न त राम्रो संग कोरिएको छ, न मुहार नै राम्रोसंग धोइएको छ। कपडाहरु पनि
राम्रो संग मिलाएर लगाईएका छैनन्। औंलाहरुमा केहि समयदेखि नकाटिएका नङहरु छन्। ति
नानि संगै उभिएको उनको भाइ पनि उनि जस्तै देखिन्छ, संरक्षण नगरिएको शुन्दर मुर्ती
जस्तै।
बिस्तारै आखाँ
खोल्छु र तल ओरालो पट्टि हेर्छु। खुल्ला आखाँको अगाडीपट्टि देखिन्छ, एक नदिको
लमतन्न बगर, ओरालोको अन्त्यमा, तल, धेरै तल। बिस्तारै ओरालो लागेपछि आइपुग्छ एक
जोर घरहरुको सिंगो बस्ती, केहि थान बारीका टुक्राहरु संगै। दुईबटा परालका
कुन्युहरु छन्। र, ति घरहरुमा बस्छन करिब एक दर्जन चेपांगहरु। ठुलो झोला बोकेको
देखेर होला, एक बालक म तिर हेर्छ र बालशुलभ जिज्ञास तेर्साउँछ, अनुहारमा। म आफै
जबर्जस्त बोलिदिन्छु – बाइ बाई! राम्रो संग पढ्नु ल। केहिबेर अगाडी प्राप्त भएर
लगाएका सफा कपडाका सेता जुत्ताबाट नजर चोरे जस्तोगरि, तिनै जुत्ताको प्रतिबिम्बित
चमक मिसाएर, उ फुस्स हास्छं। जबाफमा म पनि हाँसी दिन्छु। एक लहर खुसिको छाल
उफ्रिएर आउँछ।
केहिबेर ओरालो झरे
पछी खोलाको किनार अलि प्रस्टै देखिन्छ। अफ्ठेरो महसुस गरिरहेका खुट्टाहरु र
थिचीइरहेको मुटुको गति मिलाउन नसके पछी थुचुक्क बस्न मन लाग्छ। सालको बोटको फेदमा
बसी सके पछी लामो स्वास फेर्छु, एउटा लामो यात्रा पछी थकान मेटाउन कतै टाढाको चौपारिमा
बसेको बटुवा जस्तै। तुफानी आंधी आउँछ मनमा र त्यसलाई नियाल्न फेरी बिस्तारै परेला
बन्द गर्छु।
क्रमश: आँखै आगाडी प्रत्येक
चेपांग बालबालिकाका अनुहारहरु आइबस्छन। एउटा बाबुलाई समातेर बोलाउन खोज्छु। उ
बोल्दैन। लाजले हो वा बोल्न नजानेर हो, छुट्याउन गाह्रो पर्छ मलाई। हातमा अनुदानमा
पाएको साबुन, दन्त मन्जन र दाँत माझ्ने बुरुसको पोको बोकी उभिएको त्यो केटोलाई
प्रेमले अझै नजिक तान्छु, उ गम्भीर अनुहार बोकेर म तिर आइपुग्छ। म नियाल्छु उसलाई।
एक सरो पातलो कपडा, चिसा औंलाहरू, खुसि भुलेको चेहरा र जुत्ता र चप्पल बिहिन
पाइतालाहरु। अनि हेर्छु प्रत्येक बालकहरु। सबै झन्डै झन्डै उस्तै उस्तै देख्छु।
उसले हातमा बोकेको साबुन
देखाएर, म उसलाई सोध्छु साबुनको प्रयोग बारे। उ वाचाल भएर बस्छ। अनि बताउँछु
एकोहोरो। उ ज्ञानी भइ सुनी बस्छ। अनि दाँत माझ्नेबारे भन्छु। उ मुर्तिबत जड भइ
बस्छ। घरि घरि आखाँ झिम्क्याँउछ र औंला चलाउँछ। वाचाल, बिल्कुल वाचाल। म कायल
हुन्छु तर जब म उस्का नयनहरु हेर्दछु, अनि देख्छु गरिबीले मक्काएको भविष्यको जिर्ण
सपना।
यही बेलामा झसङ्ग
हुन्छु जब कोइ बोलाउँछ, “सर! ओरालो त अझ धेरै बाँकी छ।” ओरालो झर्नेहरुको लामो
धर्सो जस्तो लस्कर धेरै तल पुगिसकेको देख्छु। आफनु अडेस लागेको झोला बोकेर फेरी ओरालो
लाग्छु। सुकेर झरेका पातहरु कुल्चिंदाको सर्याक सुर्युक आवाजले एकतमास मनलाई
झस्काईरहन्छ। आँखैभरि चेपांग बस्तीका अनुहारहरु आईरहन्छन।
बस्ति भरि पीडाहरु
असरल्ल छरिएका छन्। अभाबहरुले प्रत्येक दिन चिमोटीरहेकाछन् । न त पेटभरि खाना
पाउनु छ न त आङ्ग ढाक्ने लुगाको प्रबन्ध नै। कलिलो उमेरमा हुने बिबाह, अप्ठेरा
भौगोलिक बसाईहरु। बिस्कुन जस्ता समस्याहरु। निम्न चेतनाको स्तर, शून्य स्वास्थ
सेवाको पहुँच। संझिदै कहाली लाग्दो। मन दुखेर आयो। अनि तिनै अबोध बालकहरुको भविष्यको
चित्र धुमिल हुन थाल्यो। चिप्रा थुप्रिएका आँखाको कुनाहरूमा शुन्दर दिनहरुका
चित्रहरु अड्किएका थिए। सुकोमल हातहरुले सफल जिबनको तस्बिर कोर्नुपर्ने बेला औंलाहरुमा
फोहोर अड्किएर बसेको छ।
ओरालो अझै बाँकी छ, निक्कै
होसियार भएर झर्नुपर्ने। सुस्त सुस्त झर्दै गर्दा मन भरि कुरा खेलिरहे र सम्झंनामा
आईपुगे एक जना चेपांग बृद्द। “अस्पताल त के कुरा औषधि त देखेको छैन”, उनि भन्दै
थिए, “एसो जंगल तिर गयो अनि कन्दमुल खोज्यो र खायो”। जन्म र स्थान ले निर्धारण गर्ने मान्छेको
जिन्दगि कुनै बेला कति कठोर र दर्दनाक भै जान्छ, त्यसको एक हद सम्म ज्ञात भयो यी
नानीहरुलाई देखेपछी। अनिश्चित दिनहरुको बर्तमानमा साँची बसिरहेका यी नानीहरुले
कसरि प्रतिस्प्रधात्मक समाजमा एक दिन बिजेताको दाबेदारी पेश गर्लान? म निरुत्तर
रहें ।
ओरालो झन्डै सकिइसकेको
थियो। सालका बोटहरुलाई छोडेर ओरालो एकहोरो बगिरहेको थियो, आफ्नै रुपमा। ओरालोमा सालका
बोटहरु बिच हराएको आफ्नो छाँया तल फेदीमा आईपुग्दा आकार घटेर आफू जत्रै भएको थियो।
अफ्ठेरो बाटो झरी सक्दा पनि मनले कत्ति सजिलो महसुस गरिरहेको थिएन। मन असहज बनाउने
एउटा प्रश्न थियो, र अझै छ, “कहिले आउला समानता देशमा?”
Post a Comment