कीर्तिपुर एक रहरको सहर हो।
कुनै समय थियो, जब म कीर्तिपुरको बारेमा सोच्दथे – एक शान्त, सुन्दर अनि मानबिय
आबस्यकताको भरपुर पर्याप्तताको शहर। मेरा सपनाहरु मिथकीय प्रभाब बाट मुक्त थिएनन्। मिथकका
स्रोतहरु संचारका माध्यम एबम् पुनरागमन भएका अनुभूतिहरु बढी थिए। स्वैर कल्पना अर्को
औजार थियो। त्रिभुवन बिश्वबिध्यालय अझ अर्को मिथकीय प्रभाबको मुर्छना थियो। यस
प्रकार सपनाहरु मिथकीय लयमा बगीरहेका थिए।
कथा र जीबन फरक फरक कुराहरु
रहेछन। एउटाको नायकलाई लेखकले पाएसम्म आफ्नो वसमा पार्न खोज्छ, जबसम्म कथाको नायकको
अस्थित्व प्रभावशाली बन्दैन। तर अर्काको नायक अनायक पनि बन्न सक्छ, यदि उसले आफैले
आफैलाई वसमा राख्न सकेन भने। मिथक र बास्तबिकता पनि यस्तै रहेछन। सर्वकालीन के र
कुन हो भन्ने त्यो विवादको विषय बन्नसक्ला तर त्यो आहिले आबस्यक भएन। जब
बास्ताबिताकताले घुम्टो हाल्छ, मिथकीय प्रभाब कुमारी नवयौवनाले लजाएर लुकाएको शिर
जस्तै भित्रभित्रै कतै लुक्दो रहेछ। हरेक मिथकीय प्रभाब पनि बास्तबिकताले घेरिएका
तिनै परिधि भित्रका चोइटाहरु हुन्।
यिनै मिथकीय प्रभाबहरु,
सर्पले टोकेर विषाक्त रगत शरीर भरि बोकेको व्यक्ति जस्तै, मेरो मानसपटल भित्र
बोकेर, म माइक्रोबसबाट तिनकुनेमा ओर्ले। हाँस्दा परैबाट देखिने काला दाँतहरु बोकेर
एक जना बृद्द खुद्रा मसिना सामानहरु जस्तै चुरोट, चुईगम् आदिको बिस्कुन लगाएर बसीरहेका
थिए। मिथकले पारेका जादुमयी प्रभाब मध्ये एउटा प्रभाब त्यहि झण गायब भयो। म ओर्ले
पछि, उसको आफ्नै गन्त्यब्य तिर गुडेको माइक्रोबस जस्तै। पक्की सडक, एकतमासे किताब पसलहरु, हरिया एबं मोहनी लाग्दा कपुरका शान्त बोटहरु, गम्भीर तर बिल्कुल एक्ला भबनहरु
उभिएको देंखे। अस्तब्यस्त राजनीतिले पारेका लघु तर गम्भीर प्रभाबहरुको याद आयो। गम्भीर
पर्खाललाई कुरूप बनाउने गरी भित्तै भरी टाँसिएका स्ववियु निर्वाचनका प्रचार
सामाग्रीहरु। लाग्यो, यो बिश्वबिध्यालयका प्रत्येक संरचनाहरु सूचना पाटी हुन्।
बिधुतका खम्बाहरु, भवनका भित्ताहरु अनि शिरीषका बोटहरु। एकपल्ट पारिजातलाई श्रद्दा
पुर्बक संझे। ति बोटहरु। तिनमा न फूल नै थियो न त भ्रमर को त्यो पिडाबोधक आक्रमण।
तिनै पारिजात को तपोभुमि, यो कीर्तिपुर अनि यी बोटहरु। सम्बन्धको सानो धर्को याद
आयो।
शिरीषका बोटमा फूल फुल्यो
समयसंगै। बिश्वबिध्यालय ढकमक्क भयो। विकृति र विसंगतिका रूपमा अनेक भ्रमहरु क्रमसः
आउंदै गए। जब म साँझ ति बोटका रस्ती बस्तीमा जान्थे, म बोटहरुका फेदहरुमा लडी
रहेका सपनाहरु देख्थे। अनि मैले बल्ल बुंझे एक मिथकको महाआख्यान यात्रा किन
रोकिन्छ। देशका बिद्दत वर्गको तपोभुमि हो यो, जँहा उनीहरु नै महाआख्यान को अन्त्य पढाउॅछन्।
त्यो पनि राम्रो सँग मानसपटलमा आयो। जब म मिथकहरु टुक्राटुक्रा परेर यता उता, वर पर
अनि अस्तब्यस्त भएको देख्छु, मलाई लाग्द्छ, म उत्तर आधुनिक युगको कुरू क्षेत्रमा
छु। अब सायद मिथकका प्रभाबहरु प्रभावशाली हुदैनन्। मलाई त तिनहरुका प्रभाबहरु
ज्याद्रा लाग्थे।
देवकोटाका अनन्तता हेर्ने
मसलाका बोटहरु, पारिजातका सुन्दर र शान्त शिरिषका बोटहरु, प्रेमका स्वर्ण गुलाबहरु,
कपुरका सायमी बोटहरु एबं पिपलका अजीर्ण जिबनहरु यहिँ छन्। यिनका प्रत्येक पत्तामा
सृजनाका रंगहरु छन्। सपनाका रेखाहरु छन्, अनि बिराट भबिस्यका उज्याला नक्षत्र पनि।
म एक वर्षाको कल्पना गर्दछु, जसले यी शुन्दर पत्ताहरुमा ढाकिएका धुलोका सतहहरुलाई
बगाएर लैजाओस्।
यहाँ हरेक दिशाहरु शक्तिले
बाँधिएका छन्: बाघ भैरब, पशुपतिनाथ, स्वयम्भुनाथ, दक्षिणकाली। यी प्रभाबहरु गतिशील
छन्, घनचक्करमा एक बिदेशीले नाप्न खोजेका शक्तिहरु जस्तै। बर्तमान यी प्रभाबहरु
बाट झिकिए जस्तो लाग्छ।
सायद सपनाहरु र शक्तिहरु
जोडिने छन्। समय प्रभावशाली बन्नेछ, अनि जिन्दगीहरु एकछिन टक्क उभिएर हेर्नेछन्। सपनाको
एक सानो बर्णपटमा बास्तविकताका रंगहरु समेटिने छन्। म आश गर्दछु।
प्रकाशन : कीर्तिपुर दर्पण
सप्ताहिक, २०६९ बैशाख १८ गते सोमबार।



